सुचना तथा समाचार
जोशीपुर गाउँपालिकाको संक्षिप्त परिचय ।
जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन् भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ । यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ । जिल्ला सदरमुकाम देखि १०० कि.मि. दुरीमा रहेको यो गाउँपालिका अन्न तथा धान बालीको उत्पादनको लागि कैलाली जिल्लाको राम्रो गाउँपालिकामा पर्दछ । जमिनको भुवनोट अनुसार यो गाउँपालिकाको सम्पूर्ण भुभाग तराई क्षेत्रमा पर्दछ भने उष्ण, उपोषण र समशितोष्ण हावापानी भएको यस गाउँपालिका गर्मी याममा अधिकतम तापक्रम ४३ डि. सेल्सियस सम्म र जाडोमा न्यूनतम तापक्रम ५ डि. सेल्सियस सम्म पुगेको पाइन्छ । समुद्रसतह बाट न्युनतम १४८ मिटर देखि अधिकतम १६२ मिटर उचाई सम्म भू -धरातल रहेको यस गाउँपालिकाको लगभग आधा भू -भाग वन क्षेत्र तथा बुट्यानले भरिएको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ३७१८७ रहेको छ । जसमध्ये १९४३३ महिलाको संख्या छ भने १७७५४ पुरुष रहेका छन् । मुख्य जातिका रुपमा थारु ,क्षेत्रि ,ब्राम्हण तथा दलितहरुको बसोबास रहेको पाइन्छ । प्रशासनिक विभाजनका सन्दर्भमा, नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं.१ र इलाका नं. ९ मा पर्ने यो जोशीपुर गाउँपालिका कैलाली जिल्लाको तराई भागमा भएतापनि भौतिक सुविधा निकै कम भएको मानिन्छ ।
यस गाउँपालिकाको सबै भु भाग तराई भएकाले कृषिका लागि अत्यन्तै उर्वर जमिन तथा चिम्टयाईलो बलौटे दोमट सबै किसिमको माटो पाइने भएकाले यहाँको माटोको उर्वरा शक्ति राम्रो मानिन्छ । यद्यपी यस क्षेत्रको माटोमा अर्मलयपन भएतापनि यसले खासै असर पारेको देखिएको छैन । यस गाउँपालिकाको लगभग आधा भू- भाग वन क्षेत्र बुट्यान तथा ताल तलैयाहरुले भरिएको छ भने बाँकी भूमि कृषिमा उपयोग हुनुका साथै बस्ती, नदी किनारा, बाटो आदि क्षेत्रले ओगटेको छ । यस गाउँपालिकामा विशेष गरी अन्न बालीहरुमा धान, गहुँ, मकै तथा नगदे बालीमा तोरी, लाही साथै मसुरो, उखु, केरा, आँप लिचि तथा अन्य फलफुल तथा तरकारी खेतीको लागि राम्रो मानिन्छ । यस जोशीपुर गाउँपालिकामा खेती योग्य जमिन करिब ११२० हेक्टर रहेको छ ।
जोशीपुर गाउँपालिका भित्र बसोबास गर्ने धर्मालम्बीहरुमा हिन्दु, क्रिस्चियन, मुश्लिम रहेको पाइन्छ । जोशिपुर गाउँपालिकामा पर्यटकीय स्थल खासै नभएपनि केही मन्दिर तथा तालहरु बाडीबाबा मन्दिर, पेपरा ताल, चरिया ताल र शंकर समुदाय ताल रहेका छन् ।